-->

Ads Top

धुर्मुस सुन्तली फाउण्डेसनलाई आर्थिक संकट


फाल्गुन १, २०७३- अपेक्षित सहयोग जुट्न नसक्दो बर्दिवास–२ मा निर्माणाधीन ‘एकिकृति नमूना मुसहर बस्ती’ लाई आर्थिक संकट परेको छ । हास्य कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको ‘धुर्मस–सुन्तली फाउण्डेसन’ले पुष तेश्रो साता सुरु गरेको यो महत्वाकांक्षी योजनाको अहिलेसम्म ३७ प्रतिशत काम मात्रै पुरा भएको छ ।

‘बैशाख १ गते भवन हस्तान्तरण गर्नुपर्छ,’ कट्टेलले बर्दिवासस्थित निर्माण स्थलमा आइतबार संचारकर्मी समक्ष नैरास्य व्यक्त गरे, ‘तर, अपेक्षित सहयोग जुट्न नसकदा समस्यामा छौं ।’

नमुना बस्तीमा ५० आवासीय घर, १ सामुदायिक भवन र १ मन्दिर निर्माण गरिने योजना छ । यसका लागि ४ करोड ७८ लाख रुपैयाँ आवशयक रहेको उनले जनाए । अनुमानित लागतमध्ये १ करोड ३ लाख रुपैयाँ सिन्धुुपालचोकको गिरानचौरमा भूकम्प पीडितका लागि निर्माण गरिएको परियोजनाबाट बचेको रकम र केही रकम दशविदेशका शुभेच्छुकबाट जुटाइए पनि आवश्यक रकम अझै अपुग भएको उनले बताए ।

‘अहिले पनि हामीलाई साढे २ करोड रुपैयाँ अपुग छ,’ कट्टेलले भने, ‘यो रकम नजुटेसम्म निर्माण अघि  बढाउन गाह्रो छ ।’

एकिकृति नमुना मुसहर बस्ती परियोजना’ का संयोजक अर्जुनप्रसाद न्यौपानेका अनुसार अहिले निर्माण कार्यमा ७० जना डकर्मी , २ सय ५० जना गाउँले श्रमिक , देशी विदेशी गरी १५ जना स्वयंसेवक, ५० जनाजति स्थानिय र फाउण्डसनकर्मी गरी ३ सय जनाले श्रम गरिरहेका छन् । तर खर्च अभावसँगै निर्माण सामग्रीको जुटाउन गाह्रो हँुदै गएकाले चिन्ता थपिएको हो ।

पुष २५ गते शिलन्यास हुँदा सहयोगको लागि जस्तो उत्साह देखिएको थियो । त्यो क्रमश: शिथिल हुँदै गएकोले पनि फाउण्डेसनले चिन्ता जनाएको हो । तराईको अति विपन्न र पिछडिएको मुसहर समुदायको उत्थानको लागि निर्माणाधीन एकिकृत बस्तीका लागि शुभेच्छा र सद्भाव भएपनि तराइ क्षेत्रबाटै अपेक्षा गरे अनुसारको सहयोग जुट्न नसक्दा परियोजनालाई आर्थिक संकट परेको उनले बताए ।

‘तराईको मुसहर बस्ती निर्माण जागरुक हुने अभियान पनि हो,’ कट्टेलले थपे, ‘सबैको सद्भाव र शुभेच्छाका कारण हामी अझै पनि सहयोग जुट्ने कुरामा आशावादी छौं ।’





स्रोत: कान्तिपुर

No comments:

Powered by Blogger.