-->

Ads Top

चीनमा कुकुरका १५ कुरा



मंसिर २६, २०७१-सबैभन्दा धेरै जनसंख्या भएको मुलुक चीनबारे चर्चा गर्न योग्य विषय धेरै छन् । अचम्म यो छ कि कुकुर पनि तीमध्ये एक हो ।

१. चीनमा सन् १९६० को दशकमा सांस्कृतिक क्रान्ति चलेका बेला कुकुर पाल्नेलाई सामन्ती र उच्च घरानियाँ ठानिन्थ्यो । कुकुर पालेकैमा उनीहरूमाथि कानुनी र सामाजिक कारबाही हुन्थ्यो ।

२. सन् १९८३ मा पैचिङ नगरपालिकाले कानुन नै बनाएर कुकुर, बिराला, हाँस र सुँगुरलगायतका सातवटा जनावर पाल्न प्रतिबन्ध लगायो । यो प्रतिबन्ध दस वर्ष कायम रहेर १९९३ मा हट्यो ।

३. 'वान चाइल्ड पोलिसी' अर्थात् एक सन्तान नीति अवलम्बन गरेको देशको राजधानीमा 'वान डग पोलेसी' अर्थात् एउटा मात्र कुकुर पाल्न पाउने नियम छ । सन् २००६ मा कुकुरको संख्या र रेबिजको संक्रमण बढेकाले पैचिङ नगरपालिकाले एक परिवार एक कुकुरको नीति बनाएको हो ।

४. अहिले पैचिङमा मात्र बीस लाख कुकुर छन् । दस लाख त दर्ता नै गरिएका छन् । दर्ता नगरिएका पनि छाडा र भुसिया हैनन् ।

५. एउटाभन्दा बढी कुकुर पाल्नेहरूले चाहिँ कुकुर नपालेको परिवार खोजेर उसको नाममा दर्ता गराउने गर्छन् । यो बठ्याइँ प्रयोग गरेर एउटै परिवारले दुई अथवा त्योभन्दा बढी कुकुर पाल्ने पनि गरेका छन् ।

६. सन् २००३ मा पैचिङ नगरपालिकाले बनाएको कानुनअनुसार पाँचौँ चक्रपथभित्र पर्ने आठवटा जिल्लामा ३५ सेन्टिमिटरभन्दा बढी उचाइको कुकुर पाल्न पाइन्न । अगाडिको खुट्टादेखि काँधसम्मको उचाइ बढीमा ३५ सेन्टिमिटर भएको कुकुर मात्र पाल्न पाइन्छ । पैचिङमा ६ वटा चक्रपथ छन् ।
७. पाँचौँ चक्रपथबाहिरका बासिन्दाले भने ३५ सेन्टिमिटरभन्दा अग्ला कुकुर पाल्न पाउँछन् । तर चक्रपथभन्दा बाहिर दर्ता गरेर सहरका भित्री भागमा पनि ३५ सेन्टिमिटरभन्दा अग्ला अग्ला कुकुर पनि पालिएका छन् ।

८. हरेक वर्ष मे महिनाबाट कुकुरको दर्ता प्रक्रिया सुरु हुन्छ । वर्षैपिच्छे नवीकरण गर्नुपर्छ । सुरुमा एउटा कुकुर दर्ता गरेको एक हजार युयान (१६ हजार रुपैयाँ) लाग्छ । नवीकरण गर्न हरेक वर्ष पाँच सय युआन लाग्छ ।

९. यदि कुकुरलाई बन्ध्याकरण गरिएको छ भने दर्ता शुल्क र नवीकरण शुल्कमा पचास प्रतिशत छुट हुन्छ ।

१०. कुकुर दर्ता गर्नुअगाडि सरकारी मान्यताप्राप्त भेटेनरी डाक्टरबाट निरोगिता र सबै खोप लगाइएको प्रमाणपत्र पेस गर्नुपर्छ ।

११. एक सन्तान नीतिका कारण घरमा बच्चाको खेल्ने साथी र उमेर ढल्केकाहरूका लागि समय कटाउने सबैभन्दा प्यारो साथी कुकुर बनेको छ ।

१२. पैचिङका सार्वजनिक पार्कहरूमा बिहानै घुमाउन ल्याइएका कुकुरहरूको भीड लाग्छ । विभिन्न आकार र रङ्गका कुकुर डो‍र्‍याउनेहरू प्राय: सेवानिवृत्त पाका व्यक्तिहरू हुन्छन् । यसरी कुकुर डो‍र्‍याएर हिँड्नुलाई हिजोआज प्रतिष्ठाका रूपमा लिइन्छ ।

१३. ग्लोबल पोस्टका अनुसार सन् २००९ मा एक धनाढ्य चिनियाँ महिलाले ४० लाख युआन (६४ करोड रुपैयाँ) एउटा कुकुर किनेकी थिइन् । त्यो कुकुरलाई घरसम्म लान ३० वटा मर्सिडिज कारले स्कर्टिङ गरेका थिए ।

१४. सन् २०१४ मार्च १८ मा चीनको ह्वाङचउमा एक व्यक्तिले तिब्बती मास्टिफ जातिको एउटा कुकुरलाई २० करोड रुपैयाँमा बेचेका छन् । चीनमा कुकुर किनबेचमा यो अहिलेसम्मकै सबैभन्दा महँगो मानिएको छ ।

१५. पैचिङको पूर्वी क्षेत्रमा गत वर्ष २९ एकड क्षेत्रफलमा कुकुरको दाँत आकारमा एउटा पार्क बनाइएको छ । जसमा कुकुरका लागि रेस्टुरेन्टदेखि हड्डी आकारको स्विमिङ पुल, कुकुर तालिम केन्द्र र मृत कुकुरका लागि चिहानसम्मको व्यवस्था छ ।

No comments:

Powered by Blogger.