-->

Ads Top

आईसीसीका ग्लोबल हेड काठमाडौंमा

फाल्गुन ७, २०७३- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का हेड अफ ग्लोबल डेभलपमेन्ट विलियम ग्लेनराइट नेपाल आइपुगेका छन् । नेपाली क्रिकेटको विवाद समाधानलाई बनेको सल्लाहकार समितिसँगको बैठकका लागि उनी शुक्रबार साँझ काठमाडौं आएका हुन् ।

सेप्टेम्बर अन्तमा टिम एन्डरसनको स्थान लिएका ग्लेनराइट पहिलो पटक नेपाल आएका हुन् । उनीसँगै आईसीसीका लेखा शाखाका प्रमुख अमर शेख पनि आएका छन् । सल्लाहकार समितिको बैठक शनिबार र आइतबार सोल्टी होटलमा बस्ने कार्यक्रम छ । त्यस बाहेक आईसीसी टोलीले नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचित टोलीसँग भेट्ने कार्यक्रम छ ।
क्यानमा सरकारी हस्तक्षेप भएको, स्वतन्त्र र निष्पक्ष चुनाव नभएको जनाउँदै आईसीसीले धारा २.९ मिचेको भनी वैशाख १३ गते क्यानलाई निलम्बन गरेको थियो । आईसीसीले २०१४ को अन्तदेखि नै क्यानलाई दिँदै आएको सबै अनुदान थियो । नेपाली क्रिकेट टिमलाई भने आईसीसीका प्रतियोगिताहरू खेल्न छुट दिइएको छ । तयारीक्रममा रहँदा र खेल्दा लाग्ने खर्च आईसीसीले नै उपलब्ध गराउँदै आएको छ ।

गतवर्ष मंसिर अन्तिममा चतुरबहादुर चन्दलाई अध्यक्षमा चुन्दै क्यानको साधारण सभा भएको थियो । तत्कालीन अध्यक्ष टंक आङबुहाङ सहितको टोलीले क्यानको उक्त सभा बहिष्कार गर्दै राखेपमा उजुरी दिएको थियो । आफ्नो स्विकृतिविना चुनाव भएको भन्दै राखेपले त्यसलाई मान्यता दिएको छैन । पुस १८ मा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले रमेश सिलवालको अध्यक्षतामा अर्को क्यान तदर्थ समिति गठन गर्‍यो । निर्वाचित क्यानले त्यसविरुद्व सर्वोच्च अदालतमा मुद्दापछि क्यान विवाद थप चर्कियो । त्यसको अझै फैसला भएको छैन । क्यान विवादित बनेपछि आईसीसीले निलम्बन गर्दै निकास दिन सल्लाहकार समिति बनाएको हो ।

‘बैठकमा नयाँ बन्ने विधानबारे छलफल हुनेछ,’ सल्लाहकार समिति सदस्य रोहित दाहालले भने, ‘वकिल नियुक्तिको निर्णय पनि बैठकमै हुनेछ ।’ सल्लाहकार समितिले दुई वकिलको नाम प्रस्ताव राखिसकेको र त्यसमा छलफल हुने बताइएको छ । सल्लाहकार समितिमा नेपाल क्रिकेट संघका पूर्व अध्यक्ष विनयराज पाण्डे, उद्योगपति वसन्त चौधरी, खेलकुद मन्त्रालयका सहसचिव चूडामणि पौडेल, नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान पवन अग्रवाल, क्यानका पूर्व उपाध्यक्ष दीपक कोइराला र राखेपका प्रेस सल्लाहकार दाहाल छन् ।

पाण्डे र चौधरीलाई आईसीसीले संयोजकको जिम्मेवारी दिएको थियो । आईसीसीका प्रमुख कार्यकारी अधिकृत डेविड रिचर्डसन सेप्टेम्बरमा नेपाल आएर सल्लाहकार समितिको प्रकृया अगाडि बढाएका थिए । आईसीसीका कार्यकारी सदस्य इमरान ख्वाजाको रोहबारमा काठमाडौंमै सल्लाहकार समितिको पहिलो बैठक बसेको थियो । सल्लाहकार समिति राय–सुझावका लागि जिल्ला भ्रमणमा निस्कने घोषणा गर्दै वीरगन्ज पुगेको थियो ।

नेपाल र केन्याबीच हुन लागेको विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलबारे आईसीसी टोलीले अनौपचारिक रूपमा सरोकार वालाहरूसँग पनि छलफल गर्नेछ । खेल फागुन २८ र ३० गते हुँदै छ । गत वर्ष नेपाली क्रिकेटको दुई समानान्तर संघ भएपछि विश्व क्रिकेटको सर्वोच्च निकायले नेपाल र नामिबियाबीचको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आफ्नै रोहवरमा आयोजना गरेको थियो । क्यान पूर्ण रूपमा निलम्बन रहेको अवस्थामा आईसीसीले अहिले पनि आफै आयोजक बनेर खेल आयोजना गर्न लागेको हो ।

No comments:

Powered by Blogger.