-->

Ads Top

मधेसी मोर्चाका नेताहरुले प्रचण्डलाई भने– तपाई चुनाव गर्नुस, हामी आन्दोलन गर्छौँ

मधेसी मोर्चाका नेताहरुले सरकारले चुनावको मिति घोषणा गरेकै दिन आफूहरुले पनि आन्दोलनको घोषणा गर्ने चेतावनी दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भएको छलफलका क्रममा मधेसी मोर्चाका नेताहरुले संविधान संशोधन विधेयक पास नभई घोषणा गरिने चुनावको औचित्य नरहेको बताए ।
बैठकमा प्रम प्रचण्डले चुनावको मिति घोषणा गर्ने सबै तयारी पूरा भएको भन्दै त्यसमा सघाउन मोर्चालाई आग्रह गरेका थिए । चुनावको मिति घोषणा गरेलगत्तै संशोधन विधेयक पास गराउने तर्फ सरकारको ध्यान रहने भन्दै चुनावको मिति घोषणामा सकारात्मक बन्न प्रमको आग्रह थियो ।
‘संशोधनमा लागे चुनाव अन्योलमा भएकाले मात्रै संशोधनलाई अहिले थाती राखिएको हो’, बैठकमा प्रचण्डको भनाई उदृत गर्दै एक मोर्चाका नेताले भने, ‘चुनाव घोषणा भइको भोलिपल्टै विधेयक पास गराउनतर्फ लाग्छौं, तपाईहरु ढुक्क हुनुस् ।’
तर प्रमको सो आग्रहलाई मधेसी मोर्चाले अस्विकार गरेर बालुवाटारबाट हिँडेको बताइएको छ ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले मधेस केन्द्रित दलका नेताकै सहमतिमा निर्वाचनको मिति घोषणा गर्ने तयारी स्वरुप छलफलका लागि आमन्त्रण गरिएको भएपनि सहमति जुटाउन नसकिएको बताए ।
प्रमुख तीन दलका बीचमा स्थानीय तहको निर्वाचन घोषणा गर्ने विषयमा प्रारम्भिक सहमति भइसकेको र उक्त सहमतिमा मधेस केन्द्रित दलका नेतालाई समेत सहमत गराउने सरकारको तयारी छ ।
सरकारले निर्वाचन आयोगलाई यही फागुन ८ गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी भएको जानकारी गराएको छ ।
मोर्चाले प्रमको आग्रहलाई अस्वीकार गरेपनि अब सरकार चुनावको मिति घोषणै गरेर अघि बढ्न रणनीतिमा रहेको स्रोतको दाबी छ ।

No comments:

Powered by Blogger.