-->

Ads Top

दुबईमा काम गर्न नेपालि गार्ड निकै विस्वासिलो


दुबई, नवलपरासी कावासोतीका पर्शुराम भट्टराई डेन्टल कम्पनीमा अफिस ब्वाईका रूपमा काम गर्न १३ वर्षअघि दुबई छिरेका थिए । हेपिएर काम गर्न नचाहने स्वभावका उनले कम्पनी फेरिरहे । ११ वर्षमा उनले दुबईका ६ कम्पनीमा काम गरे । कामकै सिलसिलामा दुबईका पर्यटन क्षेत्रका व्यक्तिहरूसँग उनको चिनजान भयो । त्यही चिनजानबाट उनी डेजर्ट सफारीमा आबद्ध व्यक्तिहरूसँग नजिकिए । दुई वर्षयता अरूको काम छाडेर उनले आफ्नै गाडी किनेर डेजर्ट सफारीमा गाइडका रूपमा काम गर्दै आएका छन् । आफन्तको सहयोगमा बैंकबाट ऋण लिएर उनले ल्यान्डक्रुजर गाडी किनेर मरुभूमि सफारीका लागि चलाउँदै आएका छन् ।

दुबईको मरुभूमिमा सफारीका लागि करिब तीन हजार गाडी सञ्चालनमा छन् । त्यो भीडमा कावासोतीका भट्टराईसहित अन्य नेपाली युवाको डेजर्ट सफारीमा अलग पहिचान छ । कामदारकै रूपमा दुबई पुगेका उनीहरूले डेढ दशक पसिना बगाएपछि आफैं ल्यान्डक्रुजर किनेर दुबईमा टुर गाइडका रूपमा काम गर्न थालेका हुन् । मरुभूमिमा सुरक्षित सफारीका लागि नेपाली गाइडहरू पहिलो रोजाइमा पर्ने गरेका छन् ।

स्याङ्जाका मोहन न्यौपानेले पनि आफैँ गाडी किनेर डेजर्ट सफारी गराउँदै आएका छन् । उनी दुबई पुगेको १६ वर्ष भइसक्यो । ‘दुबईमा मलाई कहिल्यै दुःख भएन,’ न्यौपाने भन्छन्, ‘दुःख गर्नेलाई यहाँ धेरै अवसर छ ।’ न्यौपाने दुबईमा पर्यटन क्षेत्रको काममा लागेकै सात वर्ष भइसकेको छ । टुरिस्ट गाडी चलाउँदै आएका उनले साढे दुई वर्षदेखि आफ्नै गाडी किनेर सफारी व्यवसाय गर्दै आएका छन् ।

सुनसरीका सोम कँडेल र स्याङ्जाका टोपलाल गौडेलले पनि दुबईको सफारीमा गाडी चलाउन थालेको पाँच वर्ष भइसकेको छ । भट्टराई, न्यौपाने, कँडेल र गौडेल चारैजना मिलेर दुबईमा पर्यटन व्यवसायमा काम गर्दै आएका छन् ।

मरुभूमि सफारीको गाडी चलाउन निकै कठिन छ । लाइसेन्स लिन नै धेरै संघर्ष गर्नुपरेको भट्टराई सुनाउँछन् । ६ महिना तालिम र मिहिनेतपछि आफूले लाइसेन्स लिएको उनले बताए । लाइसेन्सकै लागि मात्र करिब पाँच लाख रुपैयाँ खर्च हुन्छ । ‘लाइसेन्स पाएपछि पनि मरुभूमिमा गाडी चलाउन निकै जोखिम हुन्छ । भिरालोमा तीव्र गतिमा गाडी चलाउनुपर्ने भएकाले थोरै मात्र ब्यालेन्स मिलेन भने पनि गाडी पल्टिहाल्छ,’ भट्टराई भन्छन्, ‘तर, मलाई रोडमा भन्दा डेजर्टमै चलाउन सजिलो लाग्न थालिसक्यो ।’

अन्य देशका चालकहरूले सीधा रुटमा मात्र डेजर्ट सफारी गराउने र साहसिक रुट कमै प्रयोग गर्ने गर्छन् । तर, पर्यटकको चाहनाअनुसार नै आफूहरूले एडभेन्चर दिने गरेको नेपाली युवाहरूको भनाइ छ ।

भट्टराई र न्यौपाने दुवैले डिजर्ट सफारीका लागि ५० लाखभन्दा धेरै लगानी गरिसकेका छन् । दुबईमा एउटा ल्यान्डक्रुजर गाडी किन्न करिब ८० लाख रुपैयाँ लाग्छ । चार प्रतिशत ब्याजमा बैंकबाट कर्जा लिएर गाडी किनेको र मासिक कमाएर किस्ता तिर्दै आएको उनीहरू बताउँछन् । सिजनअनुसार महिनामा ६ लाख रुपैयाँसम्म कमाइ हुने उनीहरूको भनाइ छ ।

व्यक्तिगत जीवनमा मात्र नभई व्यवसायमा पनि चारैजनाबीच सहकार्य चल्ने गरेको छ । भट्टराई र न्यौपाने दुवै आफ्नो पेसामा रमाएका छन् । सामान्य कामदारकै रूपमा दुबई पुगेका उनीहरू निरन्तरको संघर्षपछि आफ्नो पहिचान बनाउन सफल भएका छन् । यही क्षेत्रमा अझै धेरै काम गरेर अगाडि बढ्न सकिने सपना रहेको न्यौपानेले बताए ।नयाँ पत्रिका दैनिकमा खवर छ ।

No comments:

Powered by Blogger.